top of page
Image by Tengyart
Writer's picture ΔIO

पोखरा म्याराथनकाे तयारी सुरु, प्रथम पुरस्कार ५ लाख पुग्यो



नेपाली अग्रज खेलाडीहरूको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।


आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारीसँगै १७औँ संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।


त्यसैगरी म्याराथन ४२.१९५ किमीतर्फ नै दोस्रो, तेस्राे र सान्त्वनासम्म सबै पुरस्कार राशी बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेस्राे र सान्त्वनातर्फ क्रमशः नगद ३ लाख, २ लाख र ३० हजार पुरस्कार रहेको छ भने गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिलाे दोस्रो र तेस्राे हुनेले क्रमशः नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।


त्यसैगरी हाफ म्याराथन महिलातर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले १ लाख ५० हजार, द्वितीयले १ लाख, तृतीयले ७५ हजार र सान्त्वना हुनेले १५ हजार पाउनेछन् । म्याराथनअन्तर्गतनै हुने १० किमी महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३, द्वितीय हुनेले नगद २० र तृतीयले १५ हजार प्राप्त गर्नेछन् । कार्यक्रमअन्तर्गत नै विद्यालयस्तरीय छात्र/छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ भने ह्विल चियर महिला पुरुष तथा दृष्टिविहीन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशी बढाइएको मञ्चले जनाएको छ ।


गत केही सस्करणमा कोभिड १९ का कारण फरकफरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्टहरू एकैपटक एकैसमय फागुन ६ गते शनिबारनै हुने अध्यक्ष पराजुलीले बताए । पुरस्कार राशीमा समेत भारी वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आकर्षण बढाउनेतर्फ मञ्चको ध्यान केन्द्रित गरिएको बताउँदै उनले भने, “वर्ष १६औँ संस्करणको कुल पुरस्कार राशी नगद १२ लाख २६ हजार थियो । तर, अब पुरस्कारतर्फ कुल नगद १७ लाख ५२ हजार पुर्‍याएका छौँ ।” योसँगै म्याराथनतर्फ दौड पूरा गर्नेलाई एक सयजना, हाफ म्याराथनतर्फ ५० जना, १० किमी पुरुषतर्फ दुई सयजना, महिला १० किमीतर्फ एक सयजना र छात्र–छात्रासमेत गरी करिब एक हजार मेडलका साथमा ईप्रमाण पत्र समेत वितरण गरिनेछ ।


पोखरा म्याराथनको तयारीसँगै मञ्चले खेलाडी दर्ता प्रक्रियासमेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन अध्यक्ष पराजुलीको मुल संयोजकत्वमा २२ सदस्यीय विभिन्न समितिसमेत गठन गरिएको महासचिव कृष्ण तिमिल्सिनाले बताएका छन्। १७औँ संस्करणबाट एक साता अगावै दर्ता प्रक्रिया समेत रोक्ने आयोजकले जनाएको छ ।


पोखराको प्रतिष्ठित उद्योगमध्ये एक सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरेली मञ्च यूके मुख्य सहयोगीको रूपमा रहेका छन् । त्यसैगरी तमु धिं यूके, सहारा यूके, बगर भाई खलक यूके, नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, सहारा क्लब अस्ट्रेलिया, सहारा क्लब हङकङलगायत स्वदेश तथा विदेशका समाजसेवीहरू, उद्योगी तथा व्यवसायीहरूले सहयोग गर्दै आइरहेका छन् ।


मञ्चले हालै गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले प्राप्त गरेको सफलताप्रति खुसी व्यक्त गरेको छ । प्रदेशहरूमध्ये गण्डकी प्रदेश उत्कृष्ट नतिजाका साथ प्रथम हुनु सबैको लागि खुसीको विषय रहेको बताउँदै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरूलाई बधाइ दिएको हो ।






म्याराथनको लागि दर्ता गर्न तलको बटनमा क्लिक गर्नुहोस्



1 view0 comments

Comentários


bottom of page